Patient Education

उपचार नचाहिने जण्डिस— गिलबर्ट सिण्ड्रोम

"मैले खाना बारेको थुप्रै भईसक्यो, चिल्लो मुखमा राखेकै छैन, आर्यूबेदिक औषधि पनि खाइरहेको छु तर पनि मेरो जण्डिस निको भएन" यो समस्या धरैको नै सुनिन्छ । उनीहरु थप्छन्, खानाको रुची राम्रै छ, काम पनि गरीरहेकै छु तैपनि यो रोगबाट मुक्त हुन सकिएन । धेरै जसो मानिसहरुसंग मोटो फाइल हुन्छ । प्रायजसो रगतका जाँचहरु ठिकै हुन्छन् । खाली एउटै समस्या देखिन्छ त्यो हो रगतमा विलिरुविनको मात्रा अलि बढी हुन्छ, त्यो पनि ५ मीलीग्राम भन्दा कम । यो एकदम हानी रहित रोग, जसको कुनै उपचार गर्न पर्दैन, गिलबर्ट सिन्ड्रोम हुन सक्दछ ।

जण्डिस भनेको के हो ?

जण्डिस भनेको कुनै रोग होइन । यो केहि रोगहरुमा देखिने लक्षण मात्र हो । रगतमा बिलिरुबिनको मात्रा बढी भएमा यसलाई जण्डिस भनिन्छ । साधारण अवस्थामा रगतमा बिलिरुबिनको मात्रा १ मिलीग्राम÷१०० एम.एल. भन्दा कम हुन्छ । विलिरुबिन भन्ने पदार्थ रगतको रातो कोषबाट आउँदछ । सामान्यतया १२० दिन आयू भएको रातो रक्त कोष फियोमा पुगेर नष्ट हुन्छ । विभिन्न प्रक्रिया पूरा भए पछि हेमोग्लोबिनबाट बिलिरुविन बन्दछ, जसलाई कलेजोले पित्तमा फ्यालिदिन्छ । बिलिरुबिनको मात्रा ३ मीलीग्राम भन्दा बढी भएमा मात्र आँखा पहेलो देखिन्छ । आँखा बाहेक मुख भित्र, हत्केला, पैंतला पनि पहेंलो हुन सक्छन् । साना बच्चाहरुमा बिलिरुबिन बढ्नाले धेरै असर गर्न सक्दछ तर ठूला मानिसहरुमा एकढम धेरै नबदिकन कुनै असर गर्दैन । विभिन्न रोगहरुमा जण्डिस देखिन सक्छ । जस्तै रगतको रोग (हेमोलाइटिक एनेमिया, थ्यालासेमिया आदि), कलेजोको रोग (भाइरल हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस, अल्कोहोलिक हेपाटाइटिस आदि), पित्तको नलिमा ढुङ्गा, पित्तको नलीको क्यान्सर, प्यानक्रियाजको क्यान्सर आदि । जन्मजात जण्डिसका कारणहरुमा गिलबर्ट सिण्ड्रोम, क्रिगलर नाजार सिण्ड्रोम, रोटोर सिण्ड्रोम र डुबिन जोनशन सिण्ड्रोम छन् । त्यसैले बुझ्न पर्ने जरुरी कुरा के हो भने विभिन्न रोगहरुमा जण्डिस देखिन सक्छ र एकचोटि जण्डिस देखिए पछि कुन कारण देखिएको हो थाहा पाउन जरुरी हुन्छ ।

गिलबर्ट सिण्ड्रोम भनेको के हो ?

अगस्टिन गिलबर्टको नाममा राखिएको यस रोगले करिब ७% जनसंख्यालाई असर गरेको पाइन्छ । यस रोगको कारक तत्व कलेजोमा पाइने "ग्लुकोरुनाइल ट्रान्सफरेज इन्जाइम" को कमी हुनु हो । यो एक बंशानुगत रोग हो र एउटै परिवारको धेरै जनालाई असर गर्न सक्दछ । स्वस्थ व्यक्तिको तुलनामा यस रोग भएको व्यक्तिमा उक्त इन्जाइम १०—३०% सम्म कम हुने गर्दछ । कलेजोका कोषहरुले यस इन्जाइमको मद्दतले रगतमा भएको बिलिरुबिनलाई आफु भित्र लिएर पित्तमा फ्याल्ने गर्दछ । यहि बिलिरुबिनको कारणले गर्दा पित्त पहेँले हुने गर्दछ । यो रोग २०–३० बर्षका मानिसहरुमा पहिलो पल्ट देखिने गरेको छ । स्वास्नी मानिसहरु भन्दा लोग्ने मानिसहरुमा वढी देखिन्छ ।

यस रोगका लक्षणहरु के हुन्छन् ?

साधारणतया यस रोगको लक्षण केहि पनि हुदैन प्राय गरी यो रोग अरु कुनै रोगको लागि रगत जचाउँछ मात्र देखिने गर्दछ । यदि कुनै लक्षण भएमा आँखा पहेँलो हुनु मात्र हो । आँखाको पहेँलो विभिन्न अवस्थामा बढ्न सक्छ जस्तै मानसिक तनाव, धपेडी हुनु, निन्द्रा नपुग्नु र कुनै कारणले ज्वरो आउनु । प्राय व्यक्तिहरु रगतको रिपोर्ट देखेपछि पेटको दुखाई र अन्य लक्षणहरु महशुस गर्ने गर्दछन् । अरु कुनै कारणले देखिएका लक्षणहरु पनि यसै कारणसँग जोड्ने प्रवित्ति हुनाले बिरामीद्धारा भनिने लक्षणहरु भने कम हुदैनन् । धेरै व्यक्तिहरु तौल कम भएको गुनासो पनि गर्दछन् । "जण्डिस" भएको आफैले भनेर खाना बार्ने, उसिनेको मात्र खाने गरेर वजन कम भएको पाइन्छ ।

यो रोगको निदान

यो रोगको निदान प्राय गरी अरु रोगको लागि विभिन्न टेष्ट गर्दा आफै पत्ता लाग्ने गर्दछ । भाइरल हेपाटाइटिस निको हुन पर्ने समयमा निको भएर कारण खोज्दै जाँदा पनि पत्ता लाग्न सक्दछ । कलेजोको लागि गरिने "लिभर फंकसन टेष्ट" गर्दा बिलिरुबिनको मात्रा १ भन्दा बढी देखिन्छ । दुई प्रकारका बिलिबिन (डाइरेक्ट अथवा कन्जुगेटेड र इन्डाइरेक्ट अथवा अनकन्जुगेटेड) मध्ये दोस्रो चाहि बढी देखिन्छ र पहिलो प्रायः वढ्दैन । यो रोगलाई रगतको रोगबाट हुने जण्डिससँग छुट्याउन जरुरी हुन्छ र त्यस सम्वन्धी केही जाँच गरिन्छ । बिलिरुबिनको मात्रा १–५ मिलीग्रामको बिचमा रहने गर्दछ । २४ घण्टा नखाइकन जाँच दाहो¥याएमा बिलिरुबिन बढ्ने गर्दछ । पेटको सल्ट्रासाउण्डमा पनि कुनै खराबी देखिदैन । अरु सवै रगतका जाँचहरु निरोगी मानिसको जस्तै देखिन्छ ।

उपचार

यो रोगको कुनै उपचार गर्नु पर्दैन । बिलिरुबिन बढी भएर शरीरको कुनै पनि अंगलाई असर गर्दैन । यस रोग भएका व्यक्तिले समान्य जीवन व्यतित गर्न सक्दछन् । कुनै किसिमको उपचारले यस रोगको प्रकृयामा फरक नआउने हुनाले एलोप्याथी उपचार प्रविधिमा कुनै उपचार गरिदैन जसले गर्दा आयुर्वेर्दिक उपचार पद्धती तिर तानीने गर्दछन् । आयुर्वेर्दिक उपचार पद्दतीमा जण्डिसलाई रोगको रुपमा लिने गरिन्छ जुन गलत छ । उपचार नचाहिने रोगलाई विभिन्न औषधीको प्रयोगले गर्दा अरु नराम्रो पार्न सक्दछ । कतिपय मानिसहरु नून पनि बारेर रगतमा नून कम भएर भर्ना गर्न पर्ने अवस्थामा पनि आउने गर्दछन् ।

अन्त्यमा, गिलबर्ट सिण्ड्रोम एक वंशानुगत रोग हो जसमा रगतमा बिलिरुबिनको मात्रा केही बढी हुने गर्दछ । यस रोगको अरु कुनै लक्षण हुदैन र यसको लागी कुनै उपचार पनि चाहिदैन खाना बारेर र अन्य औषधिको (एलोप्याथीक अथवा आयुर्वेर्दिक) प्रयोग गरेर समस्या अरु जटिल हुन सक्दछ ।