Patient Education

हिपाटाइटिस सि र यसको उपचार प्राध्यापक डा. सुधांशु के.सी.

नेपालमा हिपाटाइटिस बि को चर्चा निकौ हुने गर्दछ तर उत्तिकै खराब, कलेजो बिगारेर लिभर सिरोसिस गर्न सक्ने हिपाटाइटिस सि को चर्चा कम हुने गर्दछ । यसमा केही कारण हुन सक्दछ । पहिलो, हिपाटाइटिस बि एड्स भन्दा पनि डरलाग्दो भनेर चित्रित गरिन्छ । दोश्रो, बैदेशिक रोजगारमा जान खोज्ने हरु हिपाटाइटिस बि देखिएको कारणले जान पाएनन भन्ने बढी सुनिन्छ । तेश्रो, हिपाटाइटिस सि कुनै समुह बिशेषका ब्यक्तिमा दिल्लीने हुनाले अन्य समुहमा चर्चा नभएको हुन सक्छ । देश भरिको स्थिती हेर्ने हो भने हिपाटाइटिस बि भन्दा हिपाटाइटिस सि सन्क्रमित ब्यक्तीहरु कम छन । देशका बिभिन्न रक्तदान केन्द्रमा गरिएको परिक्षण गर्दा ठाउँ हेरी ०.१ देखी ०.७% सन्क्रमण पाइएको छ । हाम्रो देशमा हिपाटाइटिस सि सन्क्रमित ब्यक्तीहरु मध्य ८०% ब्यक्तीहरु कुनै न कुनै बेला लागु पदार्थ दुर्ब्यशन गरेको पाईन्छ । सन २०१२ को तथ्यान्क बिभागको आकडा अनुसार नेपालमा ९१००० लागु पदार्थ दुर्ब्यशनि रहेछन । त्यसैले अहिलेको अवस्थामा करिब १ लाख ५० हजार सन्क्रमित छन भन्ने अनुमान छ । हिपाटाइटिस सि को उपचार गर्दैमा निको नहुने र उपचार पछी पनि फर्किन सक्ने भएकोले यसको उपचार गर्ने कि नगरने भन्ने दुबिधा धेरैमा पाईन्छ । तर अचेल प्रयोग हुने औषधीका साइड इफेक्ट एकदमै कम, प्रयोग गर्न सजिलो, निको हुने सम्भावना धेरै भएकोले हिपाटाइटिस सि को उपचार गर्न आउनेको सन्ख्यामा ब्रिद्धी हुँदै आएको छ ।

हिपाटाइटिस सि का प्रमुख ६ जेनोटाइप हरु हुन्छन, १-६ सम्म । हाम्रो नेपालमा अधिकान्स बिरामी हरु जेनोटाइप ३ र १ का पाईन्छन । जेनोटाइप अनुसार प्रयोग गर्ने औषधी हरु फरक फरक हुन्छन । जेनोटाइप बाहेक यसले कलेजोमा ल्याएको कडापन, लिभर सिरोसिस्स भए नभएको, लिभर सिस्रोसिस भै हालेको स्थितिमा त्यसको असर हेरी औषधीको समय तोकिन्छ । सामान्यतया यसको उपचार १२ हफ्ता (३ महिना) हुने गर्दछ भने बढीमा २४ हफ्ता (६ महिना) गर्नु पर्ने हुन्छ ।

हिपाटाइटिस सि को आबिष्कार सन १९८९ मा भएको हो । सन १९९० देखी यसको जाच्ने प्रबिधी बिकास भै सकेको थियो र सन १९९२ देखी नै बिस्वासिलो जाच्ने तरिका हरु विश्वभर उपलब्ध हुन थालि सकेको थियो । आबिष्कारको २ बर्ष पछी, अर्थात १९९१ मै यसको उपचार पत्ता लागि सकेको थियो तर त्यस बाट भाईरस निर्मुल हुने सम्भावना निकै कम हुने गर्थ्यो । राइबाभेरिन भन्ने औषधी पत्ता लागे पछी हिपाटाइटिस सि को उपचारमा आमुल परिवर्तन आउन थालेको हो । इन्टर्फेरोन र राइबाभेरिन, दुई औषधीको प्रयोग पछी ५०% सम्म बिरामीमा सफल उपचार भएको देखियो । इन्टर्फेरोन इन्जेक्सन हफ्तामा ३ पटक दिन पर्थ्यो भने राइबाभेरिन दिनको २ पटक खान पर्थ्यो । नेपालमा यि दुई औषधी प्रयोग गरेर उपचार भयो भएन त्यसको तथ्यान्क छैन । सन २००१ पछी पेगाईलेटेड इन्टर्फेरोनको आबिष्कर सङै हिपाटाइटिस सि को उपचारमा नयाँ आयम थपियो । हफ्ताको ३ इन्जेक्सन बाट १ इन्जेक्सन र साइडइफेक्टहरु पनि निकै कम भएको कारणले गर्दा उपचार गर्ने हरु पनि धेरै हुनु को साथै सफल उपचारको सन्ख्या धरै हुन थालयो । यि दुई औषधी प्रयोग गरेर हिपाटाइटिस सि को उपचार मैले प्रथम पटक सन २००४ मा गरेको हुँ । प्रथम बिरामीको सफल उपचार गर्दा ६ महिनाको औषधी र लागत करिब १० लाख खर्च भएको थियो । त्यस पछी हिपाटाइटिस सि को उपचार नेपालमा बिधिवत रुपमा शुरु हुन थालेको हो ।

सन २०१२ ताका हिपाटाइटिस सि को खाने मात्रा औषधिको आबिष्कार भयो र सन २०१३ देखी उक्त औषधीहरु बजारमा उपलब्ध हुन थाले । नेपालमा भने औषधी ब्यवस्था बिभागले मार्च २०१५ देखी नयाँ औषधी सोफोसोबुभिर चलाऊन अनुमती दियो र ततपस्चात हिपाटाइटिस सि को उपचारमा नयाँ आयम थपिन गयो । जेनोटाइप ३ का बिरामी हरुमा इन्टर्फेरोन इन्जेक्सन लगाउन पर्ने बाध्यता सकियो र उपचार साइड इफेक्ट रही हुन थाल्यो । बिकशित मुलुक लाई पछ्याउदै जनवरी २०१६ देखी नेपालमा अर्को औषधी डाक्लाटास्भिर भित्र्याउन सफल भैइयो । यसको आगमन पछी ६ महिना उपचार गर्न पर्ने जेनोटाइप ३ लाई ३ महिना मै उपचार गर्न मिल्ने भयो । समयको साथ साथै पैसाको पनि बचत हुने भयो । यसको प्रयोग पछी उपचार गरेका बिरामी हरु सत्प्रतिशत निको भएका छन । बिरामीको सन्ख्या बढ्दै गए पछी अरु निर्क्योल निकल्न सकिन्छ । यि औषधीहरु भारतमा भन्दा पनि नेपालमा चाडै आएकोले भारत बाट थुप्रै बिरामीहरु आएर उपचार शुरु गरेका थिए । भारत बाट मात्र नभै अन्य युरोपिय मुलुक बाट पनि उपचार गर्न आएका थिए र आउने क्रम जारी नै छ । हिपाटाइटिस सि को उपचारमा अर्को फड्को मारेको मिती हो सेप्टेम्बर २०१५ । सोफोस्बुभिर र डाक्लाटास्भिर एउटै मा भएको औषधी प्रयोग गर्न औषधी ब्यवस्था बिभाग बाट अनुमती प्राप्त भयो । यो औषधी आए संगै नेपालमा इन्टर्फेरोन प्रयोग बन्द भयो र जेनोटाइप १ का बिरामीले १२ हफ्ता मात्रै औषधी खाएर निको हुने अवस्था आयो । सन २००४ सालमा २० लाख खर्च गरेर उपचार गर्न पर्ने रोग सन २०१५ मा १ लाख १० हजारमा उपचार गर्न सकिने भयो ।

अहिले आएका नयाँ औषधीहरुको प्रयोग बाट सफल उपचार हुनेको सन्ख्या दिन पर दिन बढ्दो छ । साइड इफेक्ट हरु पनि नगण्य हुनाले बिरामी हरुमा उपचार गराउने मनसाय बढेको पाईन्छ । अब उपचारको लागि रोक्न सक्ने कुरा एउटै हुन सक्छ, पैसा । अझ पनि यो रोगको उपचार सामान्य आय भएको मानिस हरुको पहुच भन्दा बाहिर छ । ३ महिनाको उपचार खर्च करिब १ लाख पर्दछ भने उपचार अघि र पछीको जाच गर्न २५-३० हजार खर्च हुन्छ । समय मै हिपाटाइटिस सिको उपचार गर्नाले घातक रोग लिभर सिरोसिस र क्यान्सर बाट बाचान सकिन्छ । लिभर सिरोसिस र क्यान्सरका बिरामी हरु लाई सरकारले सहयोग गर्नु त ठिकै हो तर हिपाटाइटिस सि का बिरामी लाई उपचार गर्न सहयोग गरे धेरै राम्रो हुने थियो । उपचार पछी निको हुने सम्भावना ९८-९९% हुने भएकोले नेपाल सरकारले उपचारमा सहयोग गर्ने हो भने यो रोगलाई नेपाल बाट उन्मुलन गर्न सकिन्छ । हिपाटाइटिस सि मुक्त देश हरुमा नेपाल पहिलो देश बनाउन हामी सबै मिलेर लाग्ने कि ?